पोखरा, १९ वैशाख। पोखरा महानगरपालिका–१७ स्थित बिरौटाको हरिहर मन्दिर परिसरमा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शुक्रबारदेखि विधिपूर्वक हवन सुरु गरिएको छ। महायज्ञ स्थलमा निर्माण गरिएको एक सय हवन कुण्डमा बिहान ६:४५ बजे अग्नि मन्थन, ७:१५ मा अग्नि प्रवेश, ७:१९ मा समिधा दान र ८:०५ बजे विधिवत् रूपमा आहुति प्रदान गरी हवन कार्य आरम्भ गरिएको हो।

महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजी तथा उनका अभिभावक मनि राम भण्डारी र जानका भण्डारीले मूल मण्डपमा अग्निस्थापन गरी हवनको शुभारम्भ गरेका हुन्। महायज्ञ आयोजक मानव सेवा फाउन्डेसन नेपालका अनुसार यो हवन जेठ २६ गतेसम्म चल्नेछ। देशभरबाट आएका चार सयभन्दा बढी ब्राह्मण सहभागी रहेको यस महायज्ञमा दैनिक गायत्री मन्त्रद्वारा हवन गरिनेछ।

यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार १ सय हवन कुण्डमा ३–३ जना ब्राह्मणले नित्य हवन सञ्चालन गर्ने छन्। साथै, कोटी होममा १०८ भागवत महापुराण पाठ, चार वेद पाठ, सप्त चण्डी, अति रुद्री, मन्त्र जप लगायतका कार्यक्रम पनि समावेश गरिएका छन्। इच्छुक कर्ताले हवन कुण्डमा बस्नका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको व्यवस्था गरिएको छ, जसमा सबै सामग्री आयोजकले उपलब्ध गराउनेछन्।

महायज्ञको अवसरमा शनिवारदेखि ‘महायज्ञ परिजन खुल्ला भजन चुट्का प्रतियोगिता’ सुरु गरिएको छ, जसमा देशभरबाट करिब ३०० समूहको सहभागिता रहनेछ। प्रतियोगितामा प्रथम हुने समूहलाई ३ लाख ५५ हजार ५ सय ५५, द्वितीयलाई २ लाख ५५ हजार ५ सय ५५, तृतीयलाई १ लाख ५५ हजार ५ सय ५५ तथा दुई सान्त्वना समूहलाई ६५ हजार रुपैयाँ पुरस्कार दिइनेछ।

कार्यक्रममा भजन, झाँकी, देवलीला, नृत्य लगायत सांस्कृतिक प्रस्तुति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारद्वारा प्रस्तुत गरिनेछ। हालसम्म देवी प्रतिभाद्वारा कथा वाचन सम्पन्न भइसकेको छ भने अब व्यास आचार्य प्रशान्त कृष्ण परांकुश तथा अन्य साधु सन्तद्वारा कथा प्रवचन गरिनेछ। महायज्ञमा धार्मिक, सामाजिक अभियन्ता, सञ्चारकर्मी, संघीय र प्रदेश सांसद तथा भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0