पोखरा, ४ चैत्र। प्रधानमन्त्री कपअन्तर्गत आइतबार सम्पन्न खेलमा कोसी प्रदेशले गण्डकी प्रदेशविरुद्ध नौ विकेटको शानदार जित निकालेको छ। भैरहवामा सम्पन्न खेलमा गण्डकी प्रदेशले दिएको ३२ रनको झिनो लक्ष्य कोसीले ८.२ ओभरमा मात्र एक विकेट गुमाएर सहजै पूरा गर्‍यो।

कोसीको जितमा ओपनर साकिब हकले १६ रन बनाए भने चिराग साहले १० रन जोडे। सोनु अन्सारी दुई रनमा अविजित रहे। गण्डकीका बलर सुवास भण्डारीले मात्र एक विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशको प्रदर्शन निराशाजनक रह्यो। २०.४ ओभरमा मात्र ३१ रन बनाउँदा टोलीले सबै विकेट गुमायो, जुन प्रतियोगिताको सबैभन्दा कमजोर योगफल हो। गण्डकीका अर्जुन कुमाल नौ रन बनाएर टोलीका सर्वाधिक स्कोरर रहे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकसम्म जोड्न सकेनन्। चार खेलाडी त खाता नखोली पभेलियन फर्किए।

कोसीका बलर विपीन महतोले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिए। आठ ओभर बलिङ गरेका उनले तीन मेडन राख्दै १७ रन मात्र खर्चिए। फिर्दोश अन्सारीले पनि बलिङमा चम्किए, आठ ओभर बलिङ गर्दै पाँच मेडनसहित १० रन मात्र खर्चेर तीन विकेट झारे। दीपेश कँडेलले पनि एक विकेट लिए।

प्रतियोगितामा कोसीको यो पहिलो जित हो। पाँच खेल खेलेको कोसीले जितसँगै दुई अंक जोडेको छ। उता, गण्डकीले चार खेल खेलेर मात्र दुई अंक जोड्न सफल भएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0