पोखरा, २८ वैशाख। पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजित श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ दिनप्रतिदिन भव्य र भक्तिमय बन्दै गएको छ। महायज्ञको यो क्रम जेठ २६ गतेसम्म चल्नेछ भने आगामी जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका र समाजसेवी राधिका दासीले श्रीमद देवी भागवत कथा वाचन गर्ने कार्यक्रम तय भएको छ।
प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोममा राधिका दासीको सहभागिताले धार्मिक र आध्यात्मिक ऊर्जा थपिने विश्वास लिइएको छ। दासीले स्वयं पनि कोटिहोम ऐतिहासिक र अद्वितीय रहेको बताउँदै समस्त भक्तजनलाई सहभागिताको आग्रह गरेकी छन्। कोटिहोमजस्तो विशाल आयोजनामा सहभागी हुन पाइने अवसर जीवनमा विरलै आउने भन्दै उनले आह्वान गरेकी छन्, “देशका कुनाकाप्चाबाट पाल्नु होला, सबैलाई चल्लै निम्ता छ।”
शनिबारको दिन कोटिहोम विशेष रुपमा सजीव देखिएको थियो। बिहान तीनदेखि नौ वर्षसम्मका एक हजार बढी कन्याहरूको पूजा कार्यक्रम सम्पन्न भयो भने ७० वर्षभन्दा माथिका एक हजार ज्येष्ठ नागरिकलाई सम्मान गरियो। यस्तै, लोकगायक पशुपति शर्मा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चित गायिका राधिका हमालको भजन कार्यक्रमले कोटिहोमलाई झनै श्रद्धामय बनाएको थियो। आइतबार लोकदोहोरी गायिका अस्मिता डल्लाकोटिको प्रस्तुति रहने छ।
महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले भक्तजनको उत्साह र सहभागिताले आफ्नो संकल्प पूर्ण हुने दिशामा रहेको बताए। धार्मिक कर्महरूमा सबैको सहयोग र समर्पण देख्दा उनी आशावादी बनेका छन्।
कोटिहोममा राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता पनि जेठको पहिलो हप्तामा आयोजना गरिनेछ। “सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी” भन्ने शीर्षकमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका कक्षा ८ देखि १२ सम्मका विद्यार्थी सहभागी हुनेछन्। पब्लिक स्पिकर तथा शिक्षा संस्कृतिविद् डा. तुलसी प्रभास खनालका अनुसार प्रतियोगितामा प्रथम हुनेले ५१ हजार १ सय ५१ रुपैयाँसहित विविध सम्मान पाउने छन्।
वैशाख २९ गतेको चौरासी पूजन विशेष हुनेछ जहाँ सवा करोड पार्थिव शिवलिंग निर्माण, १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायण, भूमि पूजन र पितृ उद्धारका धार्मिक कार्यक्रम समावेश गरिनेछ। यसमा घरको माटो ल्याई भूमि पूजन गर्ने अवसर, २१ कोटि दीप प्रज्वलन र तुला दान कार्यक्रम समेत समावेश छन्।
कोटिहोममा ४ सयभन्दा बढी ब्राह्मणले दैनिक आहुति दिइरहेका छन् भने हवन सामग्री दान र हवन कुण्ड परिक्रमा गर्ने व्यवस्था पनि छ। सात दिनका लागि प्रवचनकर्ता दिनबन्धु पोखरेल, देवी चन्द्रकला सखी, चैतन्यकृष्ण महाराज लगायतको सहभागिता तय भइसकेको छ।
कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता, खुल्ला रक्तदान, रामायण प्रवचन, कथा वाचन, झाँकी, देव लीला र नृत्यजस्ता विविध धार्मिक-सांस्कृतिक कार्यक्रमहरु निरन्तर सञ्चालनमा छन्।































