पोखरा, ४ जेठ। पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा सञ्चालित श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आजदेखि महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले कथा वाचन सुरु गर्दै छन्। प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार विजय श्रीकृष्णले जेठ ४ गतेदेखि १३ गतेसम्म हरेक दिन दिउँसो २ बजेदेखि ६ बजेसम्म कथा सुनाउने छन्।
साँस्कृतिक, धार्मिक र आध्यात्मिक विविधताले भरिएको महायज्ञमा आज देशभरबाट ५ सयभन्दा बढी बसमार्फत भक्तजन सहभागी हुने अनुमान गरिएको छ। संकल्पकर्ता श्रीकृष्णका अनुसार आजमात्रै एक लाख भक्तहरूको उपस्थिति हुने विश्वास गरिएको छ। यति ठूलो जनसङ्ख्याको सहभागिताले कोटिहोमको माहोल भक्तिभाव र उल्लासपूर्ण बनेको छ।
यसैबीच, आजदेखि युवा दार्शनिक कथा प्रवक्ता चैतन्यकृष्ण महाराजले पनि ११ बजेबाट २ बजेसम्म कथा वाचन सुरु गरेका छन्। महायज्ञको आजको विशेष आकर्षणका रूपमा सुमेरु पीठाधीश्वर जगद्गुरु शंकराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती महाराज र महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानन्द सरस्वती महाराजको आगमन रहेको छ। यी आध्यात्मिक गुरूहरू जेठ ५ गतेसम्म पोखरामै रहने र कोटिहोममा प्रवचन दिने कार्यक्रम छ।
कोटिहोम महायज्ञमा धार्मिक प्रवचनसँगै विविध सांस्कृतिक कार्यक्रमहरू पनि समावेश छन्। देउडा गायक नन्दकृष्ण जोशी, भजन गायक रमेश सापकोटा, लोकदोहोरी गायक राजु ढकाल, हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ र महानायक राजेश हमालजस्ता चर्चित व्यक्तित्वहरूको सहभागिता क्रमशः हुने बताइएको छ।
सांस्कृतिक झाँकीको पक्षमा पनि कोटिहोम समृद्ध छ। नवलपुरबाट आएका थारु समुदायले लाठी नाच, झमटा, झुमरा लगायत परम्परागत प्रस्तुति दिने छन् भने जेठ १० गते दरौँ सिरुवारिबाट थाली नृत्य प्रस्तुत गरिने कार्यक्रम तय गरिएको छ। साथै जेठ ११ गते ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने छ, जसमा देशका विभिन्न १४ जिल्लाबाट सहभागी हुने तयारी भइसकेको छ।
महायज्ञमा पं. दिनबन्धु पोखरेल, देवी प्रतिभा, व्यासाचार्य प्रशान्तकृष्ण परांकुशल, अनुराधा पाण्डे, राधिका दासी, चन्द्रकला सखी लगायत नाम चलेका आध्यात्मिक वक्ताहरूको निरन्तर कथा प्रवचन चलिरहेको छ। साथै चौरासी पूजन, २१ कोटि दीप प्रज्वलन, तुलादान, रुद्राभिषेक, सवा करोड पार्थिव शिवलिङ्ग निर्माणजस्ता धार्मिक कर्मको विशेष आयोजना गरिएको छ।
दैनिक चार सयभन्दा बढी ब्राम्हणहरूले आहुति अर्पण गरिरहेका कोटिहोममा जौ, तिल, घिउ जस्ता सामग्रीहरू हवन कुण्डमा समर्पण गर्ने र परिक्रमा गर्ने व्यवस्थासमेत छ। जेठ १४ देखि २२ सम्म राधिका दासी, चैतन्यकृष्ण महाराज र देवी चन्द्रकला सखीको विशेष कथा सत्र सञ्चालन हुनेछ।
महायज्ञ मूल आयोजक समितिका अनुसार धार्मिक, सांस्कृतिक र आध्यात्मिक चेतनालाई विस्तार गर्ने उद्देश्यले आयोजित कोटिहोम महायज्ञ आगामी जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।































