पोखरा, पुस १९ । गण्डकी प्रदेशको राजधानी पोखरामा पर्यटकको चहलपहल बढ्दै गएसँगै यस क्षेत्रको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको छ। केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार गण्डकी प्रदेशमा होटल तथा रेस्टुरेन्ट क्षेत्रमा १ खर्ब ६ अर्ब ६४ करोड रुपैयाँ लगानी भएको छ। यो लगानीसँगै गण्डकीमा १६ हजार ९ सय ७६ होटल रेस्टुरेन्ट सञ्चालनमा छन्।
सर्वेक्षणअनुसार नेपालभर आतिथ्य सत्कार उद्योगको स्थायी सम्पत्ति ५ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा २ खर्ब ४१ अर्ब २९ करोड ९६ लाख ५ हजार बराबरको लगानी छ। गण्डकी प्रदेश लगानीको हिसाबले दोस्रो स्थानमा छ। कोशी प्रदेशमा ८५ अर्ब ६९ करोड, लुम्बिनीमा ५१ अर्ब ३६ करोड, सुदूरपश्चिममा २२ अर्ब ९९ करोड, मधेशमा २२ अर्ब २३ करोड र कर्णाली प्रदेशमा ११ अर्ब १ करोड बराबरको लगानी रहेको छ।
मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा होटल तथा रेस्टुरेन्ट उद्योगको योगदान १.९६ प्रतिशत पुगेको छ। हाल सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टमध्ये कोसी प्रदेशमा २५ हजार ८ सय ८७, मधेशमा ११ हजार ७ सय ४०, बागमतीमा ५२ हजार १ सय २३, गण्डकीमा १६ हजार ९ सय ७६, लुम्बिनीमा २० हजार १ सय ५६, कर्णालीमा ७ हजार १ सय १० र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय २८ रहेका छन्।































