पोखरा, ७ फागुन। तेस्रो संस्करणको कैलाली प्रिमियर लिग क्रिकेटको तयारी पूरा भएको छ। आयोजक जिल्ला क्रिकेट संघ कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको लागि आवश्यक मैदान निर्माणको काम, अतिथि निमन्त्रणा र प्राविधिक सबै तयारी पूरा भएको जानकारी गराएको हो।
फागुन ७ गतेबाट सुरु भएर फागुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशका १२ ओटा नगरपालिकाका टिमहरूले सहभागिता जनाउँदैछन्। प्रतियोगिताको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए रहेको र अन्य विभिन्न संघ संस्थाहरूले सहयोग गरेको जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम विष्टले बताए।
धनगढीको फाप्ला खेल मैदानमा आयोजना हुने प्रतियोगिताको पहिलो संस्करण कैलालीको टिकापुर नगरपालिकाले जितेको थियो भने दोस्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो। तेस्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ। लिग कम नोकआउटमा खेलाइने प्रतियोगितामा हरेक समूहको विजेता टोलीले सेमिफाइनल खेल्नेछ।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख, उपविजेता टोलीले नगद १ लाख, सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, बेष्ट बलर र ब्याटरले जनही १५/१५ हजार, उदीयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २५ सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा गोदावरी नगरपालिकाको टिम र शुक्लाफाँटा नगरपालिकाको टिम भिड्ने छन् भने त्यसै दिन घोडाघोडी नगरपालिका र पुनर्वास नगरपालिका बी खेल्दैछन्।































