पोखरा, ८ फागुन। आगामी फागुन ११ गते आइतबारका लागि तय गरिएको विराट चक्र विज्ञान कार्यक्रम पोखरा रंगशालामा नहुने भएको छ। आयोजक जीवन विज्ञान प्रतिष्ठानले बुधबार विज्ञप्ति जारी गर्दै मौसम तथा प्राविधिक कारणले कार्यक्रम संचालन गर्न असहज भएकाले वैकल्पिक स्थानमा गरिने जानकारी गराएको हो।
आयोजकका व्यवस्थापक किरण रुपाखेतीका अनुसार वैकल्पिक स्थानको क्षमता मध्यनजर गर्दै ६ फागुन साँझ ६ बजेसम्म दर्ता पूर्ण गरी क्यूआर प्राप्त गरेका सहभागीहरूलाई पूर्वनिर्धारित समयमै कार्यक्रम सहभागी गराइनेछ। अन्य दर्ता प्रक्रियामा रहेकालाई भने वैकल्पिक मिति र स्थान तोकी पुनः जानकारी गराइने विज्ञप्तिमा उल्लेख छ।
पोखरा रंगशालामा दैनिक खेलकुद गतिविधि हुने भएकाले विभिन्न संघसंस्थाहरूले विरोध जनाउँदै आएका थिए। यद्यपि, यही फागुन १० गते हुने ‘गण्डकी स्वजागरण उत्सव’ भने रंगशालाकै आर्चरी खेल मैदानमा निर्धारित समयमै हुने आयोजकले जनाएको छ।































