पोखरा, ८ फागुन। नेपाल ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले लेबनानलाई १–० गोलले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।
नेपालको जितमा एक मात्र गोल सावित्रा भण्डारी ‘साम्बा’ ले ४२औं मिनेटमा गरिन्। पहिलो हाफमै अग्रता लिएको नेपालले त्यसपछि रक्षा मजबुत बनाउँदै लेबनानलाई गोल गर्न दिएन। खेलभरि लेबनानले पनि दुईवटा गोल गर्ने अवसर गुमायो। विशेषगरी, इन्जुरी समयमा लेबनानको प्रहार बारमा लागेपछि खेल बराबरीमा पुग्न सकेन।
नेपालले यसअघि पहिलो खेलमा कीर्गिस्तानलाई १–० गोलले हराएको थियो। म्यानमारले बिहीबार नै कीर्गिस्तानलाई ५–० गोल अन्तरले हराउँदै नेपालसँगै फाइनल यात्रा तय गर्यो। अब नेपाल र म्यानमारबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
चार देश सम्मिलित यस प्रतियोगितामा कीर्गिस्तान र लेबनान समूह चरणबाट बाहिरिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप–२०२६ छनोट र फिफा महिला विश्वकप–२०२७ छनोटको तयारीको रूपमा लिएको छ।































