पोखरा, २३ फागुन। दाङको घोराहीमा आयोजित चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको लिग चरणका खेल सकिएसँगै सेमिफाइनल खेल्ने चार टिमको टुंगो लागेको छ। खुमबहादुर खड्का समाज विकास समितिको आयोजनामा जारी प्रतियोगितामा बिहीबार लिग चरणका सबै खेल सम्पन्न भए पछि अन्तिम चारमा पुग्ने टोलीहरूको निर्धारण भएको हो।
सम्बन्धित प्रतियोगिता जिल्ला समन्वय समिति घोराहीको मञ्चमा मंगलबारदेखि जारी थियो। बिहीबार सम्पन्न लिग चरणका खेलमा रोयल सिस्ने स्पोर्ट्स अपराजित रहँदै समुह ‘ए’ को विजेता बन्न सफल भयो भने वली बंशावली समाज (चित्रालेखी) समुह ‘बी’ को विजेता बन्न सफल भएको छ।
यस्तै, समुह ‘ए’ को उपविजेता न्यू होराईजन स्पोर्ट्स क्लब र समुह ‘बी’ को उपविजेता मणिमुकुन्द भलिबल क्लबले सेमिफाइनलमा स्थान बनाएका छन्।
अब आगामी शुक्रबार बिहान ९ बजे पहिलो सेमिफाइनल खेलमा रोयल सिस्ने स्पोर्ट्स र न्यू होराईजन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनल खेल वली बंशावली समाज (चित्रालेखी) र मणिमुकुन्द भलिबल क्लबबीच दिउँसो २ बजेपछि हुनेछ।
बिहीबारको लिग चरणका खेलहरूमा मणिमुकुन्द भलिबल क्लबले रोयल मुर्कुटी क्लबलाई सोझो सेटमा पराजित गरेको छ भने वली बंशावली समाज (चित्रालेखी) ले न्यू होराईजन स्पोर्ट्स क्लबलाई हरायो।































