पोखरा, २५ फागुन। युगाण्डामा जारी चार राष्ट्र सम्मिलित वुमन्स डे कप क्रिकेट प्रतियोगितामा आज दोस्रो दिनका खेलहरू हुँदै छन्। नेपालको महिला टोलीले आज घरेलु टोली युगाण्डासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र युगाण्डाबीचको खेल दिउँसो पौने १ बजे सुरु हुनेछ भने दोस्रो खेलमा हङकङ र नामिबिया आमनेसामने हुनेछन्।
प्रतियोगिताको पहिलो दिन नेपालले नामिबियासँग पराजय भोगेको थियो। अर्कोतर्फ, युगाण्डाले हङकङलाई पराजित गर्दै उत्कृष्ट सुरुआत गरिसकेको छ। अन्तर्राष्ट्रिय टी-२० महिला वरियतामा नेपाल २१औं, हङकङ २२औं, युगाण्डा १८औं र नामिबिया १७औं स्थानमा छन्।
नेपालले भोलि फागुन २६ मा हङकङसँग खेल्नेछ भने फागुन २८ मा नामिबिया, २९ मा युगाण्डा र ३० मा हङकङसँग प्रतिस्पर्धा गर्नेछ। लिग चरण सकिएपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् भने बाँकी दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
नेपालको टोलीको कप्तानी इन्दु बर्माले गरिरहेकी छिन्। टोलीमा रुबिना क्षेत्री, पूजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट रहेका छन्।






























