पोखरा, २६ फागुन। न्युजिल्यान्डलाई पराजित गर्दै भारतले आईसीसी च्याम्पियन्स ट्रफी–२०२५ को उपाधि जितेको छ। आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले हराउँदै उपाधि उचालेको हो।

न्युजिल्यान्डले प्रस्तुत गरेको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। भारतका कप्तान रोहित शर्माले उत्कृष्ट प्रदर्शन गर्दै ७६ रन बनाए। उनले ७ चौका र ३ छक्काको मद्दतले टोलीलाई जितको बाटोमा अघि बढाए। श्रेयस ऐयरले ४०, केएल राहुलले ३४, सुभमन गिलले ३१, अक्षर पटेलले २९ तथा हार्दिक पान्ड्याले १८ रनको योगदान दिए। न्युजिल्यान्डका माइकल ब्रासवेल र मिचेल स्यान्टनरले समान दुई विकेट लिए भने रचिन रविन्द्र र काइल जामिसनले एक/एक विकेट हात पारे।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २५१ रनको योगफल खडा गरेको थियो। डार्यल मिचेलले सर्वाधिक ६३ रन बनाए भने माइकल ब्रासवेलले ५३ रनको योगदान दिए। रचिन रविन्द्रले ३७, ग्लेन फिलिप्सले ३४, विल योङले १५ र टम लाथमले १४ रन जोडे।

भारतका वरुण चक्रवर्ती र कुलदीप यादवले समान दुई विकेट लिए भने मोहमद सामी र रविन्द्र जाडेजाले एक/एक विकेट हात पारे।

सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई चार विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। न्युजिल्यान्डले भने दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0