पोखरा, २८ फागुन। नेपाल टेलिकम प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत मङ्गलबार लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा कर्णाली प्रदेशले दिएको ९२ रनको सामान्य लक्ष्य गण्डकी प्रदेशले ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

सामान्य लक्ष्य पछ्याएको गण्डकी प्रदेशका सुरूवाती ब्याटरहरू आउट भएपछि दबाबमा परेका बेला दीपक डुम्रे र सुजन गौतमले सम्हालिएर पारी उकासेर २९ दशमलव १ ओभरमा टिमलाई जित दिलाए। बाह्र ओभरको खेल सकिँदा गण्डकी प्रदेशले २२ रनमा ६ विकेट गुमाइसकेको थियो। त्यसपछि दीपक र सुजनले शानदार साझेदारी गर्दै नतिजा आफ्नो पक्षमा पारे।

दीपक डुम्रेले सात चौकाको मद्दतमा ५० रन बनाए भने सुजन गौतमले ३ चौकाको मद्दतमा २२ रन बनाउँदै टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे। दीपक डुम्रेको अविजित अर्धशतको प्रदर्शनको कारण उनलाई प्लेयर अफ द म्याचको अवार्ड दिइयो।

कर्णाली प्रदेशका लागि विपिन शाहीले २० रन, अर्जुन घर्तीले १७ रन, विपिन रावलले १५ रन, र हिमांशु शाहीले १२ रन बनाए। अन्य कुनै पनि कर्णाली खेलाडी दोहोरो अंक जोड्न नसकेपछि कर्णाली प्रदेश २७ दशमलव २ ओभरमा अलआउट हुँदै केवल ९१ रनमा समेटियो।

अब प्रतियोगिताअन्तर्गत बिहीबार विभागीय टिम एपिएफ र मधेस प्रदेशबीच खेल हुने तालिका रहेको छ। नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीयसहित सात प्रदेशका टिम सहभागी छन्।

दाङसहितमा रूपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरू भएको प्रतियोगिताका खेलहरू राउण्ड रोविनका आधारमा भइरहेका छन्। हरेक टिमले एक अर्काे टिमसँग खेल्नेछन्। आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0