पोखरा, १५ चैत्र। गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल र सिचुवान एयरलाइन्स प्रमुख जुन यान बीच पोखरामा भेटवार्ता भएको छ। यस भेटमा सिचुवान एयरलाइन्सले पोखरा-छेन्दु चार्टर हवाई उडानको सफलतासँगै नेपाल-चीन व्यापारिक र पर्यटन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने सम्भावना व्यक्त गरियो।
मन्त्री बस्यालले पोखरा-छेन्दु चार्टर उडानलाई नेपालको पर्यटन र व्यापार प्रवद्र्धनमा ऐतिहासिक उपलब्धि मान्दै यसको दीर्घकालीन सञ्चालनका लागि चीन सरकारले विशेष प्राथमिकता दिएको बताए। उनले चिनियाँ पर्यटकहरूको आकर्षण पोखरामा मात्रै सीमित नगरी होटल, रेस्टुरेन्ट, साहसिक पर्यटन र स्थानीय उत्पादनमा लगानी गर्ने अवसर पनि रहेको बताएका छन्।
सिचुवान एयरलाइन्सका प्रमुख जुन यानले पोखरा-छेन्दु उडानलाई नियमित बनाउने सम्भावनाबारे चर्चा गर्दै चीन सरकारको योजना अनुसार पोखरालाई चिनियाँ पर्यटकहरूको लागि आकर्षक गन्तव्य बनाउने तयारी भइरहेको जानकारी दिए। पोखरा-छेन्दु चार्टर उडानका सफलतासँगै भविष्यमा १० वटा थप चार्टर उडान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
यो उडानले पोखरालाई नेपालकै प्रमुख अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने र चिनियाँ पर्यटकहरूको संख्या वृद्धि गर्दै व्यापार र लगानीका क्षेत्रमा नयाँ सम्भावनाहरू सृजना गर्ने विश्वास गरिएको छ।































