पोखरा, १८ वैशाख। पोखरामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञ १४औं दिनसम्म आइपुग्दा भक्तजनको उल्लेख्य सहभागिता देखिएको छ। बुधबार विधिवत् उद्घाटन गरिएको कोटीहोममा हालसम्म एक लाखभन्दा बढी भक्तजनको उपस्थिति रहेको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ।
महायज्ञको १४औं दिनमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले श्रीमद्भागवत कथाको अन्तिम प्रस्तुति दिएकी हुन्। कथा सकिएपछि उनले ‘तपाईंहरू कथाबाट सन्तुष्ट हुनुभयो ?’ भनी सोध्दा भक्तजनहरूले उत्साहपूर्वक थप कथाका आग्रह गरेका थिए। आयोजकका अनुसार बिहीबार मात्र करिब १० हजार पाँच सय भक्तजन कथा वाचनमा सहभागी थिए।
अबदेखि भारतका युवा दार्शनिक तथा चर्चित कथा वाचक प्रशान्त कृष्ण परांकुशले रामकथा वाचन गर्ने कार्यक्रम तय गरिएको प्रचार संयोजक लेखराज ढकालले जानकारी दिए। महायज्ञमा भारतका डा. विश्वासनन्द, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश प्रमुख लक्ष्मण देवकोटा, अन्नपूर्ण केवलकारका प्रबन्धक दिनेश पौडेललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रह्यो। केवलकार व्यवस्थापनले भक्तजनका लागि निःशुल्क बस सेवा उपलब्ध गराउने घोषणा समेत गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि भारतका के के शर्माले कोटीहोम संसारकै ऐतिहासिक यज्ञ भएको बताउँदै नेपाल विश्वभर धार्मिक चर्चामा रहेको उल्लेख गरे। संकल्पकर्ता विजय कृष्णमूर्तिले यस किसिमको यज्ञ विगतमा कतै नभएको र भविष्यमा पनि नदोहरिने दाबी गरे।
महायज्ञ जेठ २६ गतेसम्म सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसर र आसपासका क्षेत्रहरूमा जारी रहनेछ। यस अवधिमा श्रीमद्भागवत, रामकथा, शिवमहापुराण, हनुमत कथा लगायत विविध धार्मिक कार्यक्रम, विवाह, ब्रतबन्ध, कोटी दीप प्रज्वलन, रामनाम पुस्तिका वितरण, एक करोड शिवलिङ्ग स्थापना र पूजनजस्ता कार्यक्रमहरू आयोजना हुने जनाइएको छ।
साथै कलश पूजन, भजन प्रतियोगिता, सन्त सम्मेलन, चित्रकला, रक्तदान, कन्या पूजा, ज्येष्ठ नागरिक तथा स्रष्टा सम्मान, शालिग्राम पूजन, र अन्य विविध धार्मिक एवं सामाजिक क्रियाकलापहरु सञ्चालन भइरहेका छन्।
































