पोखरा, २४ वैशाख। ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको अवसरमा आज पोखरा–१७ स्थित गण्डकी कोटिहोम परिसरमा सामूहिक व्रतबन्ध (उपनयन) कार्यक्रम आयोजना हुँदैछ। हिन्दू धर्ममा अत्यन्त महत्वपूर्ण संस्कार मानिने व्रतबन्धलाई यसपालि सामूहिक रूपमा आयोजना गर्न लागिएको हो। प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ।
सामूहिक व्रतबन्ध कार्यक्रममा सहभागी हुन देशका विभिन्न भागबाट अभिभावकहरू आफन्त बालकसहित कोटिहोममा आइपुगेका छन्। काठमाडौं, बुटवल, चितवन लगायत स्थानबाट आएका सहभागीहरूको उत्साह उल्लेखनीय छ। कार्यक्रम दक्ष पण्डितहरूको निर्देशनमा शास्त्रोक्त विधिबाट सम्पन्न हुनेछ। व्रतबन्ध गराइने बालकहरूलाई यज्ञोपवीत धारण गराइ ब्राह्मणका देवऋण, ऋषिऋण र पितृऋणसम्बन्धी ज्ञान प्रदान गरिनेछ।
गण्डकी कोटिहोममा जारी विराट् ज्ञान महायज्ञ अन्तर्गत हरेक दिन कथा वाचन, कोटिहोम, हवन, पार्थिव शिवलिङ्ग पूजा, रुद्राभिषेक, तुला दान, भूमि पूजन, शुभ विवाह, चौरासी पूजनजस्ता विविध धार्मिक अनुष्ठान सञ्चालन भइरहेका छन्। सात दिनसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेलद्वारा प्रवचन हुने कार्यक्रम तय भएको छ। पोखरेल वैशाख २८ देखि जेठ ३ गतेसम्म आफ्नो झाँकी तथा संगीत समूहसहित उपस्थित हुनेछन्। त्यसपछि जेठ १० देखि देवी प्रतिभा, जेठ १४ देखि राधिका दासी, देवी चन्द्रकला सखी र चैतन्यकृष्ण महाराजजस्ता नामचीन प्रवचनकर्ता सहभागी हुनेछन्।
महायज्ञको अवसरमा भजन चुट्का प्रतियोगिता पनि सञ्चालन भइरहेको छ, जसमा करिब तीन सय जना सहभागी छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिता संयोजक प्रजापति पराजुलीका अनुसार ११ विधामा छुट्टाछुट्टै पुरस्कार वितरण गरिनेछ।
यसैबीच, महायज्ञ स्थलमा हरेक दिन रक्तदान कार्यक्रमसमेत सञ्चालन भइरहेको छ। वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनिएसँगै सुरु भएको कोटिहोम कार्यक्रम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।































