पोखरा, ३१ वैशाख। विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये सातौँ स्थानमा पर्ने धवलागिरि हिमालमा मानव पाइला पुगेको ६५ वर्ष पूरा भएको अवसरमा पोखरामा विशेष कार्यक्रम गरी पर्वतारोहण इतिहासलाई स्मरण गरिएको छ। सन् १९६० मे १३ मा स्विस–अस्ट्रियन संयुक्त आरोहण दलका म्याक्स आइसेलिनको नेतृत्वमा दुई नेपालीसहित सात जना आरोहीले ८१६७ मिटर अग्लो धवलागिरि हिमालको सफल आरोहण गरेका थिए। नेपाली आरोही निमा दोर्जी शेर्पा र ङवाङ दोर्जी शेर्पा पनि उक्त टोलीमा सहभागी थिए।
यो ऐतिहासिक दिनको अवसरमा ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीले पोखरामा ‘धवलागिरि पदयात्रा, समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रिया आयोजना गरेको हो। कार्यक्रममा पर्यटनविद् समीर बरालले धवलागिरि क्षेत्रलाई विश्वकै आकर्षक पदयात्रा गन्तव्य बनाउन सकिने धारणा राखे। उनले अन्नपूर्ण चक्रीय पदमार्ग खुम्चिँदै गएका बेला धवलागिरि चक्रीय पदमार्ग यसको वैकल्पिक गन्तव्य बन्न सक्ने बताए।
बरालले पदमार्ग क्षेत्रको पूर्वाधार, प्रचारप्रसार तथा जोखिम व्यवस्थापनमा जोड दिनुपर्ने बताए। धवलागिरिको भू–बनोट र परिवर्तनीय मौसमले यो हिमाल आरोहणलाई चुनौतीपूर्ण बनाउने उल्लेख गर्दै उनले पर्यावरण र संस्कृतिसँग जोडेर पर्यटन प्रवर्द्धन आवश्यक रहेको बताए। ट्रेकिङ व्यवसायी विश्वहाङ राईले मानव बस्ती नभएका ठाउँमा पर्यटकका लागि आश्रयस्थल निर्माणको खाँचो औंल्याए।
पर्वतारोहण संघ गण्डकीका अध्यक्ष विकास गुरूङले गण्डकी प्रदेशमा १३३ हिमाल भए पनि तिनको उचित प्रवर्द्धन हुन नसकेको जनाउँदै विदेशी पर्यटकलाई आकर्षण गर्न आवश्यक कदम चाल्नुपर्ने बताए। नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत युवराज गुरूङले पर्यटन विकासका लागि सरकार, निजी क्षेत्र र समुदायको सहकार्य अपरिहार्य रहेको बताए। प्रदेश सरकारका सचिव इन्द्रप्रसाद बस्यालले गण्डकी प्रदेशमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको र त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले धवलागिरि, अन्नपूर्ण र मनास्लु हिमाल आरोहण दिवसलाई पर्यटन प्रवर्द्धनको अवसरका रूपमा प्रयोग गरिँदै आएको बताए। ६५औँ धवलागिरि आरोहण दिवस नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय र प्रदेश सरकारको सहकार्यमा मनाइएको हो।




























